हिमाल पारिको जिल्ला अति सुन्दर प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थलको रुपमा चिनिने मनाङ जिल्लामा रहेका ४ गाउँपालिका मध्ये मनाङ ङिस्याङ गाउँपालिका पनि एक हो । समन्द्री सतहदेखि ३५४० मिटरको उचाईमा रहेको मनाङमा यस मनाङ ङिस्याङ गाउँपालिका ६९४.६३ वर्ग कि.मी मा फैलिएको छ । भौगोलिक रुपमा पुर्वमा चामे र नार्फू गाउँपालिका, पश्चिममा मुस्ताङ र म्याग्दी जिल्ला, उत्तरमा नार्फू गाउँपालिका र तिब्बत र दक्षिणमा कास्की र लमजुङ जिल्ला रहेको मनाङ जिल्लाको यस मनाङ ङिस्याङ गाउँपालिकाको घरधुरी संख्या जम्मा ५९३ र कुल जनसंख्या २२२२ रहेको जसमध्ये महिला १०१७ र पुरुष १२०५ रहेको छ ।
यस गाउँपालिकामा अधिकांश मानिसहरु बौद्ध धर्म मान्दछन् । यहाँका मुख्य जातिहरुमा गुरुङ, घले, लामा, विश्वकर्मा रहेका छन् । यहाँको औसत तापक्रम २ देखि १० डिग्री सेल्सीयस रहेको यस गाउँपालिकामा धार्मिक ऐतिहासिक पुरातात्विक एवं पर्यटकीय स्थलहरु जस्तै तिलिचो ताल, गंगापुर्ण ताल, आइस लेक, मम्छो ताल, ग्रीन लेक, घले राजाको दरवार, याकखर्क, थोराङपास, काङलापास, मेसोकान्तपास, ने गुफा, मिलेरेपा गुम्बा, मनाङ गुम्बा, भ्राका गुम्बा, तरे गुम्बा, पोचो गुम्बा, पिसाङ गुम्बा, पोतोंचे गुम्बा, ध्यारु गुम्बा, ङावल गुम्बा, टंकी गुम्बा, खाङसार गुम्बा, कर्की गुम्बा र शेर गुम्बा जस्ता धार्मिक तथा ऐतिहासिक स्थल रहेका छन् ।
कुल क्षेत्रफल मध्ये ५ प्रतिशत खेतियोग्य जमिन, जंगल १० प्रतिशत, चौरी खर्क र चरण क्षेत्र ५० प्रतिशत र डाँडाकाँडा र हिमाली क्षेत्रले ३५ प्रतिशत ओगटेको छ । यहाँको जनताको मुख्य पेशा कृषि, पशुपालन र होटेल व्यवसाय रहेको छ । हिमाली हावापानी पाइने भएको यस मनाङ ङिस्याङ गाउँपालिकामा एक सिजनमा मात्र गहुँ, करु, फापर, आलु लगाएत तरकारी खेतिवाली हुन्छ । बाँकी खाद्यान्नको जोहो खाद्य संस्थान बाट वितरण हुने गरेको साथै हाल सडक सञ्जालको पहुँच पुगाको हुँदा व्यक्तिगत तवरबाट पनि व्यवस्था मिलाउने गरिन्छ ।